सिंहदरबार वैद्यखाना करीब ४०० वर्ष पुरानो इतिहास बोकेको आयुर्वेद औषधि उत्पादन गर्ने प्राचिन धरोहर हो । यो एतिहासिक संस्था १६औं शताब्दीमा प्रताप मल्लको शासनकालमा हनुमान ढोकामा स्थापना भई पछि वि.सं. १९०४ सालमा राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाको कार्यकालमा थापाथलीमा सारिएको थियो।वि.सं. १९९० सालमा थापाथलीमा आगलागी भएपश्चात जुद्ध शमशेरको पालामा सिंहदरबार परिसरमा सारेपछि यो संस्थाको नाम सिंहदरवार वैद्यखाना रहन गएको हो। शुरुमा यसले राजदरबार, प्रधानमन्त्री तथा निजहरुको परिवारको लागि मात्र आयुर्वेद औषधि उत्पादन तथा निर्माण गर्दथ्यो।वि.सं. २००९ सालदेखि सर्वसाधारण जनताले समेत यस संस्थाबाट उत्पादन हुने आयुर्वेद औषधिहरुको उपभोग एवं प्रयोग गर्न पाउन थाले । वि.सं.२०१६/२०१७ सालदेखि यो सँस्थाले निर्माण तथा उत्पादन गरेका आयुर्वेदिक औषधिहरु तत्कालिन सरकारले निः शुल्क वितरण गर्न नेपाल भरीका आयुर्वेद स्वास्थ्य संस्थाहरुमा पठाउन शुरु गरेको थियो। वि.सं. २०५१ सालसम्म तत्कालीन श्री ५ को सरकारले, स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभागको मातहतमा राखि आयुर्वेद औषधिहरु उत्पादन तथा निर्माण गर्दै आइरहेकोमा सिंहदरबार वैद्यखानाको कार्यक्षेत्र एवं सेवाको विस्तार गर्ने उद्देश्यले विकास समिति ऐन, २०१३ अन्तर्गत सिंहदरबार वैद्यखाना विकास समिति (गठनादेश) २०५१ बमोजिम मिति २०५२ श्रावण ८ गते देखि सिंहदरबार वैद्यखाना विकास समितिको नाममा रुपान्तरण गरि गुणस्तरीय आयुर्वेदिय औषधि निर्माण तथा उत्पादन गरि स्वास्थ्य सेवा प्रवाहको धरोहरको रुपमा स्थापित भएको छ । सिंहदरबार वैद्यखाना विकास समितिको विकास समिति गठनादेश २०५१ अनुसार सञ्चालित समग्र विकास समितिहरु वि.सं. २०७५ सालमा खारेज हुँदा यो विकास समिति समेत खारेज भएको थियो । वि.स.२०७६ सालमा यस विकास समितिको गठनादेश पहिलो संशोधन गरी सिंहदरबार वैद्यखाना विकास समिति (गठनादेश) २०७७ मार्फत हाल नेपाल सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मातहतमा राखी सञ्चालनमा रहेको छ।

आ.व. २०८१/०८२ देखि यस सिंहदरबार वैद्यखाना विकास समितिले गुणस्तरीय आयुर्वेद औषधिहरु उत्पादन तथा निर्माण गरि कार्यालयमै बिक्रि काउन्टर र स्टकिष्ट मार्फत सर्वसाधारणलाई औषधि उपलब्ध गराउनुका साथै देशका विभिन्न सरकारी कार्यालयहरुसँग (G to G) सम्झौता गरि सोझो खरिद बिक्रिको कार्य गर्दै आएको छ ।